२ मंसिर, काठमाडौं । तराई-मधेश द्रुतमार्ग निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। आयोजनाअन्तर्गत निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङको दायाँ ट्युब आज छिचोलिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा ३ हजार ४५५ मिटर लामो सुरुङको ब्रेकथ्रु गरिएको नेपाली सेनाले जनाएको छ। यसअघि गत भदौमा यसको बायाँ ट्युब छिचोलिएको थियो।
द्रुतमार्गमा निर्माणाधीन सात सुरुङमध्ये धेद्रे र लेनडाँडा सुरुङ पनि यसअघि ब्रेकथ्रु भइसकेका छन्। अब चन्द्रामभीर, देवीचौर, सिसौटार र मौरीभीर सुरुङ छिचोल्न बाँकी छन्।
नेपाली सेनाका अनुसार २०८३ भदौ मसान्तसम्म आयोजनाको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ५१।४७ प्रतिशत पुगेको छ।
२०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको म्याद निर्माणमा ढिलाइ भएपछि मन्त्रिपरिषद्ले थप तीन वर्ष बढाएर २०८६ चैतसम्म पुर्याएको छ।

























