काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफलाई लक्षित गरी भारतको मुम्बईस्थित जुहु क्षेत्रमा गोली प्रहार भएको छ।
आइतबार भएको घटनामा अभिनेता श्राफ सुरक्षित रहे पनि उनका चालकसहित दुई जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार जुहुको पुष्पा पार्क क्षेत्रनजिकै मोटरसाइकलमा आएका तीन जनाले श्राफ सवार कारलाई लक्षित गरी पाँच राउन्ड गोली चलाएका थिए।
गोली लागेर श्राफका चालक र नजिकै रहेका एक अटो–रिक्सा चालक घाइते भएका छन्। घटनापछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो।
यस घटनाको जिम्मेवारी लरेन्स ग्याङका अनिल पण्डित र हरमन सन्धुले लिएको समाचारमा उल्लेख छ। अनिल पण्डितले सामाजिक सञ्जालमा लेख्दै आफूहरूले दिएको चेतावनीलाई बेवास्ता गरिएकाले गोली चलाएको दाबी गरेका छन्।
उनले मुम्बईको फिल्म उद्योगमा आफूहरूको कुरा नसुन्ने वा अभिनेता सलमान खानसँग काम गर्ने व्यक्तिलाई पनि निशाना बनाउने धम्की दिएका छन्।
घटनाबारे थप अनुसन्धान र प्रहरीको आधिकारिक विवरण आउन बाँकी छ।































