१ कार्तिक, काठमाडौं । दशैँको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार नियमित तालिका अनुसार हरेक वर्षको पहिलो चरणमा कात्तिक २ र ३ गते ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि खुवाउने गरिएको थियो।
तर, यस वर्ष कात्तिक २ र ३ गते दशैंको बिदा परेकाले पहिलो चरणको कार्यक्रम निर्धारित समयभन्दा पछि सञ्चालन गर्न लागिएको विभागले जनाएको छ।
बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन र जुकाको संक्रमणबाट हुने स्वास्थ्य समस्याको जोखिम घटाउन सरकारले नियमित रूपमा राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।































