Skip
आज : २०८३ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको निर्देशन, सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक

सुदिप बर्देवा प्रकाशित : २०८३ असोज, २७ गते


Advertisement

काठमाडौं, असोज २७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ। छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको छ।

सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा सुनारका विषयमा उठेका गम्भीर प्रश्नप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले यस्तो कदम चालेको हो।

पार्टीका अनुसार सञ्चारमाध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषय गम्भीर र संवेदनशील छन्। यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पार्दै पार्टीले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको जनाएको छ।

विषयको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिइएको र अनुसन्धान प्रभावित नहोस् तथा पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन पूरा नहुँदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको पार्टीले जनाएको छ।

त्यसैगरी, सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै रास्वपाले सरकारी अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ।

कानुन उल्लङ्घन वा पदीय आचरणविपरीतका कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पार्दै पार्टीले छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय लिने जनाएको छ।


प्रतिकृया दिनुहोस्