काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि गुरुराज घिमिरेले आफ्नो राजनीतिक यात्रा नयाँ सोच र शैलीका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
महाधिवेशनमा आफूलाई विश्वास गरेर १ हजार ५१३ मत प्रदान गर्ने प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै घिमिरेले उक्त मतलाई सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिएको बताएका छन्।
उनले महाधिवेशनबाट उपसभापति तथा विभिन्न पदाधिकारीमा निर्वाचित सबैलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।
पार्टीभित्र एकता र हार्दिकता बढाउने, निर्णय प्रक्रियालाई पारदर्शी बनाउने तथा विधिसम्मत ढंगले पार्टी सञ्चालन गर्ने दिशामा नयाँ नेतृत्व सफल हुने विश्वाससमेत व्यक्त गरेका छन्।
लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै घिमिरेले परिणामबाट विचलित नभई नयाँ शिराबाट अघि बढ्ने बताएका छन्। आगामी दिनमा निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरणलाई प्राथमिकतामा राखेर राजनीति गर्ने उनको भनाइ छ।
‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’ भन्दै घिमिरेले नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
उनले आफूलाई साथ, माया र विश्वास दिने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति पुनः धन्यवाद व्यक्त गरेका छन्।































