काठमाडौं । साउदी अरेबियाको रियाधस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनभित्र दोस्रो आक्रमण भएको छ।
आइतबार भएको आक्रमणमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
साउदी अधिकारीका अनुसार विमानस्थलको यात्रु कक्षमा क्षेप्यास्त्र खसेपछि आगलागी भएको थियो। यसअघि शनिबार भएको आक्रमणमा १३ जनाको मृत्यु र ३०८ जना घाइते भएको दाबी गरिएको थियो।
यमनका हुथी विद्रोहीले दुवै आक्रमणको जिम्मेवारी लिँदै साउदीका विमानस्थल तथा हवाई क्षेत्र प्रयोग नगर्न अन्तर्राष्ट्रिय एयरलाइन्स र यात्रुलाई चेतावनी दिएका छन्।
उनीहरूले रियाध विमानस्थलसहित तेल पूर्वाधार र दम्माम विमानस्थललाई समेत निशाना बनाएको बताएका छन्।
हुथी समूहले यमनमा साउदीको सैन्य संलग्नता र सानास्थित विमानस्थलमा भएको हवाई हमलाको जवाफमा आक्रमण गरेको जनाएको छ। साउदी पक्षले भने विमानस्थलनजिक एउटा क्षेप्यास्त्र आफ्नो वायु रक्षा प्रणालीले निष्क्रिय पारेको बताएको छ । बीबीसी































