काठमाडौं । यसपालिको दसैं–तिहारमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुले केही राहत पाउने भएका छन्।
चाडपर्वको समयमा टिकटको भाडा बढाइएको गुनासोपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यानले) वायुसेवा कम्पनीहरूसँग छलफल गरी स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सहमति गराएको हो।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को सक्रियतामा क्यानले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो।
छलफलमा चाडपर्वमा यात्रुलाई राहत पुग्ने गरी अधिकतम स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट उपलब्ध गराउने सहमति भएको क्यानले जनाएको छ।
यस्तै, कुन गन्तव्यमा कति टिकट उपलब्ध छन् र त्यसको भाडादर कति हो भन्ने जानकारी सम्बन्धित वायुसेवा कम्पनीले आफ्नो बिक्री प्रणाली तथा अनलाइन प्लेटफर्ममा स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्नेछ।
चाडपर्वमा यात्रुको चाप बढ्ने र यही मौका छोपेर हवाई टिकट महँगो बनाइएको गुनासो बढेपछि क्यानले यस्तो व्यवस्था गरेको हो।
यससँगै दसैं–तिहारमा हवाई यात्रा गर्ने यात्रुले तोकिएको अधिकतम दरभन्दा कम मूल्यमा टिकट पाउन सक्ने भएका छन्।































