काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा सैन्य विमान दुर्घटना हुँदा विमानमा सवार २५ जनाको मृत्यु भएको छ।
नाइजेरियाली वायुसेनाका अनुसार एटीआर–४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य थिए। लागोसतर्फ नियमित उडानमा रहेको विमान उडेको केही समयमै राडारबाट सम्पर्कविहीन भएको थियो।
खोजी गर्ने क्रममा विमानको भग्नावशेष इग्बोकाडा सहरस्थित नौसैनिक अड्डानजिकै नदी किनारमा फेला परेको हो।
दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। घटनापछि राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्।































