काठमाडौं, असोज १९- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (पेसागत तथा बुद्धिजीवीतर्फ) पदका लागि शिक्षाविद् तथा समाजसेवी सह–प्राध्यापक शत्रुघ्न प्रसाद गुप्ताले उम्मेदवारी प्रस्तुत गरेका छन्। लामो समयदेखि शिक्षा क्षेत्र, विद्यार्थी आन्दोलन तथा सार्वजनिक क्याम्पसको संस्थागत विकासमा सक्रिय गुप्ताको राजनीतिक र पेसागत यात्रा चार दशकभन्दा लामो छ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा २०४६ सालदेखि निरन्तर सक्रिय गुप्ताले आफ्नो राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु गरेका हुन्। २०४६ सालको जनआन्दोलनका क्रममा नेपाल विद्यार्थी संघबाट आन्दोलनको नेतृत्व गर्दै उनी गिरफ्तारीमा परेका थिए। त्यस क्रममा जेल जीवनसमेत बिताएका गुप्ताको राजनीतिक सक्रियता त्यसपछि पनि निरन्तर रह्यो।
उनले २०४७ सालमा नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिति महोत्तरीको सभापतिको जिम्मेवारी सम्हाले। सोही समयमा रामराजा प्रसाद सिंह क्याम्पस, जनकपुरमा सचिवको भूमिकामा समेत सक्रिय रहे।
विद्यार्थी राजनीतिलाई थप संस्थागत बनाउँदै गुप्ता २०५० सालमा स्वतन्त्र विद्यार्थी युनियन, विश्वविद्यालय क्याम्पस कीर्तिपुरको सदस्य बने। त्यसको एक वर्षपछि अर्थात् २०५१ सालमा उनले स्ववियु उपसभापति पदका लागि उम्मेदवारी दिएका थिए।
राजनीति र शिक्षणसँगै सञ्चार क्षेत्रमा समेत उनको अनुभव छ। २०५२ सालदेखि रेडियो नेपालबाट प्रसारण हुने ‘घटना विचार’ कार्यक्रमको प्रस्तोताका रूपमा उनले सार्वजनिक बहस र समसामयिक विषयमा आफ्नो भूमिका निर्वाह गरेका थिए।
गुप्ताको पेसागत यात्रा पनि उत्तिकै सक्रिय देखिन्छ। उनी २०६१ देखि २०६५ सालसम्म नेपाल प्राध्यापक संघको केन्द्रीय सदस्य रहे। त्यसपछि २०६५ देखि २०६९ सालसम्म संघको कोषाध्यक्षको जिम्मेवारी सम्हाले।
शिक्षा क्षेत्रको अर्को महत्वपूर्ण संस्थागत जिम्मेवारीका रूपमा उनी २०७६ सालमा नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय उपाध्यक्ष बने। देशभरका ५५० भन्दा बढी सामुदायिक क्याम्पसहरूको छाता संगठनका रूपमा रहेको संघमा उपाध्यक्षको जिम्मेवारीपछि उनी २०७९ सालदेखि हालसम्म केन्द्रीय अध्यक्षका रूपमा नेतृत्व गरिरहेका छन्।
सार्वजनिक तथा सामुदायिक उच्च शिक्षाको विकास, क्याम्पसहरूको संस्थागत सुदृढीकरण, सम्बन्धन, तह निर्धारण, नवीकरण तथा सार्वजनिक शिक्षासँग जोडिएका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्।
चार दशकभन्दा लामो राजनीतिक तथा पेसागत यात्रामा विद्यार्थी आन्दोलन, प्राध्यापक संगठन, सञ्चार क्षेत्र र सार्वजनिक क्याम्पसको नेतृत्वसम्मको अनुभव गुप्ताको उम्मेदवारीको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ।
विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा अहिले देशभरका सामुदायिक क्याम्पसको नेतृत्व गर्ने तहसम्म पुगेको छ। यही अनुभवलाई आधार बनाएर उनले कांग्रेसको १५औँ महाधिवेशनमा पेसागत तथा बुद्धिजीवीतर्फ केन्द्रीय सदस्य पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
शिक्षा क्षेत्रका मुद्दा, प्राज्ञिक समुदायको प्रतिनिधित्व र सार्वजनिक उच्च शिक्षाको सुदृढीकरणलाई राजनीतिक नेतृत्वसँग जोड्ने उद्देश्यसहित गुप्ताले आफ्नो उम्मेदवारी अघि सारेका छन्।































