कञ्चनपुर । कञ्चनपुरको प्रसिद्ध दोधारा–चाँदनी झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न गर्न करिब एक वर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
पुलको क्षतिको स्थलगत निरीक्षण गरेको प्राविधिक टोलीले पुलका थप संरचनासमेत कमजोर अवस्थामा रहेकाले पुनर्निर्माणमा समय लाग्ने जनाएको हो।
सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा शुक्रबार पुगेको टोलीले गरेको अध्ययनका क्रममा क्षतिग्रस्त पिल्लरसँगै दायाँ–बायाँका थप दुई पिल्लर पनि कमजोर रहेको पाइएको थियो।
अधिकारीका अनुसार महाकाली नदीमा आएको तीव्र बहावका कारण पिल्लरको फाउन्डेसन आसपासको माटो र संरचना बग्दा पुलमा क्षति पुगेको हो।
कमजोर देखिएका थप पिल्लर नयाँ बनाउनुपर्ने अवस्था आउन सक्ने तथा अन्य संरचना पनि खोल्दै पुनः फिट गर्नुपर्ने हुनसक्ने भएकाले पुनर्निर्माणमा समय लाग्ने उनले बताए।
पुल पुनर्निर्माणका लागि प्रदेश सरकारको मात्र बजेट पर्याप्त नहुने भएकाले संघीय सरकारको समेत सहयोग आवश्यक पर्ने अधिकारीले बताएका छन्।
बजेट व्यवस्थापन गरी प्रक्रिया अघि बढाए पनि पुल पूर्णरूपमा सञ्चालनमा आउन करिब एक वर्ष लाग्न सक्ने उनको भनाइ छ।































