हेटौँडा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिद्धुत सेवा वितरणलाई थप व्यवस्थित र उपभोक्तामैत्री बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन्।
हेटौँडास्थित प्राधिकरणको बागमती प्रदेश डिभिजन कार्यालयमा भएको आन्तरिक छलफलमा मन्त्री श्रेष्ठले नियमित विद्युत् आपूर्ति, ग्राहक सेवा, डिजिटल भुक्तानी, बढ्दो माग व्यवस्थापन तथा विद्युत् चुहावट नियन्त्रणलाई प्राथमिकतामा राख्न आग्रह गरे।
उनले विद्युत् पूर्वाधारको नियमित मर्मतसम्भारमा ध्यान दिनुपर्ने बताउँदै विपद् वा मौसमका कारण विद्युत् अवरुद्ध हुँदा उपभोक्तालाई समयमै वास्तविक अवस्था जानकारी गराउन निर्देशन दिए।
समस्या आएपछि वितरण कार्यालयले तत्काल समाधानका लागि पहल गर्दै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो।
विपद्का बेला सेवा पुनःस्थापनामा प्राधिकरणका कर्मचारीले गरेको कामको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले सुधारका प्रयास भइरहे पनि सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन थप काम आवश्यक रहेको बताए।
मन्त्री श्रेष्ठका अनुसार हेटौँडा औद्योगिक क्षेत्रबाट मात्रै ४० मेगावाटसम्म विद्युत् मागको प्रारम्भिक संकेत आएको छ।
त्यसलाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी गर्न तथा विद्युत् बक्यौता असुलीमा कडाइ गर्न उनले निर्देशन दिए।
उनले हेटौँडा डिभिजन पूर्व–पश्चिम विद्युत् आदानप्रदानको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएकाले भविष्यको आवश्यकता सम्बोधन गर्ने गरी पूर्वाधार र संरचनागत तयारी अघि बढाउनुपर्ने बताए ।































