काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आज सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शर्माले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीलाई जनतासँग थप नजिक बनाउन आफू महामन्त्रीको उम्मेदवार बन्न लागेको बताए।
उनले कांग्रेसलाई गाउँ–दुर्गम क्षेत्रसम्मका नागरिकसँग जोड्दै सामान्य जनताका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो उद्देश्य रहेको बताए।
शर्माले लोकतन्त्र पुनःस्थापनाको आन्दोलनमा विगतमा नेपालसँगै भारत र अमेरिकामा समेत राजनीतिक पहल तथा ‘लबिङ’ गरेको दाबी गरेका छन् ।
१२ बुँदे समझदारीदेखि तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नजरबन्दमा रहेका समयसम्म लोकतन्त्रका लागि आफू सक्रिय रहेको उनको भनाइ थियो।
शर्मा मोरङ–३ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ।































