काठमाडौं, असोज २- सरकारी लगानी र पर्याप्त सहयोगको अभावमा विभिन्न समस्या झेल्दै आएका सामुदायिक क्याम्पसहरूले संकटका बेला सरकारलाई नै साथ दिइरहेका छन्। यसको पछिल्लो उदाहरण बनेको छ, मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पस।
सुकुना बहुमुखी क्याम्पसले रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ लाख ३१ हजार ८ सय ३३ रुपैयाँ सहयोग गरेको छ।
समुदायको लगानी, योगदान र विश्वासबाट सञ्चालन हुँदै आएका सामुदायिक क्याम्पस आफैं आर्थिक तथा प्रशासनिक चुनौतीसँग जुधिरहेको अवस्थामा विपद्का बेला सरकारमार्फत राहतका लागि उल्लेख्य रकम उपलब्ध गराउनु उदाहरणीय भएको क्याम्पस क्षेत्रका सरोकारवालाहरूको भनाइ छ।
“सामुदायिक क्याम्पसहरू जनताको लगानी, योगदान र विश्वासबाट स्थापित शैक्षिक धरोहर हुन्।” सीमित स्रोत–साधनका बाबजुद उच्च शिक्षाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएका यस्ता संस्थाहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका छन्।
सामुदायिक क्याम्पसहरू सरकारको प्रत्यक्ष लगानीमा भन्दा पनि स्थानीय समुदाय, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका नागरिकको योगदानबाट सञ्चालन हुँदै आएका छन्। राज्यबाट अपेक्षित सहयोग प्राप्त हुन नसक्दा धेरै सामुदायिक क्याम्पस आर्थिक, भौतिक तथा शैक्षिक चुनौतीबाट गुज्रिरहेका छन्।
यद्यपि, सामुदायिक क्याम्पसहरूले उच्च शिक्षाको विकास र गुणस्तर अभिवृद्धिका लागि सरकारसमक्ष विभिन्न माग राख्दै आएका छन्। विशेषगरी नयाँ शैक्षिक कार्यक्रम तथा विषयको सम्बन्धन सहज बनाउनुपर्ने, सामुदायिक क्याम्पसका प्राध्यापकहरूको स्तरीकरण गर्नुपर्ने, नवीकरण प्रक्रियालाई सहज बनाउनुपर्ने तथा क्याम्पसले प्रयोग गर्दै आएको जग्गाको भोगाधिकार सुनिश्चित गर्नुपर्ने माग उनीहरूले उठाउँदै आएका छन्।
तर, लामो समयदेखि उठ्दै आएका यी विषयमा राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा सामुदायिक क्याम्पसहरू थप समस्यामा परेको बताइन्छ। सीमित स्रोतमा समुदायको भरोसामा सञ्चालन भइरहेका क्याम्पसले एकातिर आफ्ना शैक्षिक तथा संस्थागत समस्या समाधानका लागि सरकारसँग सहयोग मागिरहेका छन् भने अर्कोतिर राष्ट्रिय विपद्का बेला सरकारकै राहत कोषमा सहयोग गरिरहेका छन्। देशभर करिब ६ सय सामुदायीक क्याम्पसहरु छन् ।
जसमध्ये धेरै क्याम्पसहरुले आ-आफ्नो क्षमता अनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग पठाएका छन् । यसरी हेर्ने हो भने, सामुदायिक क्याम्पसहरुले झन्डै करोड हाराहारीमा सरकारी कोषमा सहयोग गरेका छन् ।
सुकुना बहुमुखी क्याम्पसको यो सहयोगले सामुदायिक क्याम्पसहरू केवल उच्च शिक्षा प्रदान गर्ने संस्था मात्र नभई सामाजिक उत्तरदायित्व, मानवीय सेवा र राष्ट्रिय विपद्मा नागरिकप्रतिको दायित्व निर्वाह गर्ने महत्वपूर्ण सामाजिक संस्था पनि हुन् भन्ने सन्देश दिएको छ।
सरकारबाट सामुदायिक क्याम्पसका जायज माग सम्बोधन गर्दै आवश्यक नीतिगत तथा आर्थिक सहयोग उपलब्ध गराउने अपेक्षा भइरहेका बेला सुकुना क्याम्पसको यो सहयोगले “सरकारबाट सहयोगको अपेक्षा गर्ने संस्थाले नै विपद्को समयमा सरकारलाई सहयोग” गरेको अर्थपूर्ण उदाहरण प्रस्तुत गरेको छ।



































