३१ भदौ, काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् ।
बुधबार कांग्रेसले पत्रकार सम्मेलन गर्दै असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा सो संख्याका प्रतिनिधि सहभागी हुने कांग्रेस निर्वाचन समितिले जानकारी दिएको हो ।
निर्वाचन समितिका सदस्य राजु नेपालले यस पटकको महाधिवेशनमा करिब ७ हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने जानकारी दिए ।
रसुवा, नुवाकोट र धादिङ लगायतका केही बाहेक ८ लाख ७० हजार क्रियाशील सदस्य रहेको पनि कांग्रेसले जनाएको छ ।
महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन देशभर करिब ९ हजार जना निर्वाचन अधिकृतहरू वडा तहसम्म खटाइएको छ। स्थानीय तहको पार्टी समितिसँगको समन्वयमा निर्वाचनको काम भइरहेको छ।
निर्वाचन समितिका सदस्यसचिव नेपालका अनुसार ३ वटा जिल्लाबाहेक ७४ जिल्लामा निर्वाचनको सामग्री र प्रक्रिया आजैबाट सुरु भइसकेको छ।
कांग्रेसको यो महाधिवेशनले देशभरबाट साढे ३ लाखभन्दा बढी निर्वाचित नेतृत्व चयन गर्दैछ। जसमा केवल वडा समितिमा मात्रै २ लाख ९६ हजार ६ सय ९२ जना निर्वाचित हुने अनुमान गरिएको छ। पार्टीको जग मानिने क्रियाशील सदस्यताको सङ्ख्या पनि यस पटक ८ लाख ७० हजार पुगेको छ।
कांग्रेसले यस पटकको महाधिवेशनलाई प्रविधिमैत्री र चुस्त बनाउने दाबी गरेको छ। वडा तहदेखि नै नेतृत्वको छनोट र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्दै महाधिवेशनलाई लोकतान्त्रिक अभ्यासको भव्य उत्सवका रूपमा सम्पन्न गर्ने पार्टीको तयारी छ।
































