३१ भदौ, काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारी भएको छ ।
कानुनमन्त्री सोबिता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने प्रस्ताव गरिएको हो ।
कानुनमन्त्री गौतमले आजको व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको बताएकी छन्। जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उनको ठम्याइ छ।
प्रस्तावित विधेयकमा आमाका लागि कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबाका लागि ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदाको व्यवस्था गरिएको उनले जानकारी दिइन् ।
बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी नभएको मन्त्री गौतमको भनाइ छ।































