२८ भदौ, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ९ जना घाइते भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका-१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी-६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका अन्य दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।
थप दुई जना घाइतेलाई पनि हेलिकप्टरमार्फत नै अस्पताल लैजाने तयारी छ।
अन्य घाइतेको सानीभेरी गाउँपालिका अस्पताल सिम्लीमा उपचार भइरहेको छ।
जिपमा चालकसहित १३ जना सवार रहेका पाइएको प्रहरी नायब उपरीक्षक पौडेलेले जानकारी दिए।
जिपमा सवार सबैको पहिचान भने अझै खुलेको छैन।
सानीभेरी गाउँपालिका-६ को कोटगाउँबाट सानीभेरीकै सिम्लीतर्फ आइरहेको लु.१च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटनामा परेको हो। जिप सडकबाट ५० मिटर तल खसेको छ।
































