२७ भदौ, काठमाडौँ । काठमाडौँ जिल्लामा खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको भए पनि उपभोक्ताले सजिलै पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले कडा चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै ग्यास बिक्रेता तथा वितरकहरूलाई ग्यास उद्योग वा डिलरबाट प्राप्त हुनासाथ उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ । प्रशासनले जिल्लाभर नै ग्यासको आपूर्ति र वितरणमा सघन अनुगमन सुरु गरिएको जनाएको छ ।
प्रशासनले सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिने जोकोहीलाई पनि कालोबजारीसम्बन्धी प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पारेको छ ।
त्यसैगरी, ग्यास भण्डारण गरी लुकाएर राखेको अवस्थामा फेला परेमा अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
यदि कुनै बिक्रेताले ग्यासको स्टक लुकाएको वा स्टक भएर पनि बिक्री नगरेको जानकारी प्राप्त भएमा तत्काल खबर गर्न प्रशासनले आम उपभोक्तालाई आग्रह गरेको छ ।
यस्तो शङ्कास्पद गतिविधि देखिएमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा फोन गरेर जानकारी दिन भनिएको छ ।

































