Skip

Hamro Sanchar

नोभेम्बरको मध्यावधि निर्वाचनलगत्तै इरानसँगको युद्ध अन्त्य हुन्छ : ट्रम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २५ गते


Advertisement

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनलगत्तै अन्त्य हुन सक्ने बताएका छन् ।

ट्रम्पले बिहीबार सञ्चारमाध्यमसँग कुरा गर्दै इरान अब लामो समयसम्म युद्ध जारी राख्ने अवस्थामा नरहेको बताएका हुन् । उनले त्यसबेलासम्म तेलको मूल्यमा गिरावट आउने अपेक्षा नरहेको पनि बताए ।

ट्रम्पले भने, ‘मलाई लाग्छ, निर्वाचनलगत्तै युद्ध अन्त्य हुनेछ, किनभने उनीहरू (इरान) अब धेरै समयसम्म टिक्न सक्दैनन्।’

डोनाल्ड ट्रम्पको यो भनाइ टेक्सासमा रिपब्लिकन पार्टीको पहिलो मध्यावधि सम्मेलन हुनुअघि आएको हो । उक्त कार्यक्रममार्फत ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि पार्टीका नेताहरूलाई एकजुट गराउने र उनीहरूमा चुनावी उत्साह भर्ने उद्देश्य राखेका छन् ।

इरानविरुद्धको युद्धलाई लिएर ट्रम्पमाथि आफ्नै रिपब्लिकन पार्टीभित्रबाट समेत दबाब बढिरहेको छ । यसका साथै, युद्ध जारी रहेका बेला विभिन्न सर्वेक्षणमा ट्रम्पको लोकप्रियतामा समेत गिरावट आएको देखिएको छ ।


प्रतिकृया दिनुहोस्