२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट आफूहरूलाई न्याय मिल्ने विश्वास व्यक्त गरेका छन्।
भक्तपुरमा आयोजित बीपी जयन्तीसम्बन्धी कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएको विषयलाई आफूहरूको पक्षमा सकारात्मक संकेतका रूपमा व्याख्या गरे।
पार्टीको रुख चिह्न र चारतारे झण्डा पनि आफूहरूले नै पाउने उनको दाबी थियो।
देउवाका अनुसार पुनरावलोकनमा निस्सा प्राप्त हुनु नै विवादमा आफ्नो पक्षको महत्वपूर्ण सफलता हो। उनले भने, ‘निस्सा पाएपछि हाम्रो आधाभन्दा बढी विजय भइसकेको छ।’
उनले कांग्रेसको आधिकारिकता आफ्नो पक्षमा आउन नदिन विभिन्न प्रयास भइरहेको आरोपसमेत लगाए। गगन थापा पक्षले विभिन्न माध्यमबाट दबाब सिर्जना गर्ने प्रयास गरिरहेको उनको दाबी थियो। तर, आफूहरू कुनै पनि हालतमा त्यसलाई स्वीकार नगर्ने देउवाले बताए।
देउवाले विगतमा अदालतले आफूलाई न्याय दिएको प्रसंगसमेत स्मरण गरे। राजा ज्ञानेन्द्रको शासनकालमा आफू जेलमा रहँदा समेत सर्वोच्च अदालतबाट राहत पाएको उल्लेख गर्दै उनले अदालतप्रति आफ्नो विश्वास कायम रहेको बताए।
कार्यक्रममा देउवाले कांग्रेसको विशेष अधिवेशनको विषय पनि उठाए। उनका अनुसार विधानले विशेष अधिवेशनको व्यवस्था गरे पनि त्यसमा सहभागी हुने प्रतिनिधिहरूको पहिचान र सनाखत आवश्यक हुन्छ।
गगन थापाले भने आवश्यक सनाखत नगरी विशेष अधिवेशन बोलाएको उनको आरोप थियो।
देउवाले विशेष अधिवेशनका लागि खल्तीबाटै नाम राखिएको आरोप लगाउँदै त्यसको वैधानिकतामाथि प्रश्न उठाए।
आफू पार्टी सभापति हुँदाहुँदै पनि आफूलाई जानकारी नदिई अधिवेशन बोलाइएको उनको भनाइ थियो।
निर्वाचन आयोगसम्बन्धी प्रसंगमा पनि देउवाले तत्कालीन कार्यवाहक प्रमुखले ‘ज्यानको खतरा’ भएको कारण निर्णय लिनुपरेको बताएको दाबी गरे।
आयोगको निर्णय आफूहरूको अपेक्षाअनुसार नभएपछि अदालतको बाटो रोजेको उनले बताए।
अहिले सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रिया अघि बढिरहेको भन्दै देउवाले अन्ततः पार्टीको आधिकारिकता, रुख चिह्न र चारतारे झण्डा आफ्नो पक्षले प्राप्त गर्ने विश्वास दोहोर्याए।
































