२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्य नागरिकको जीवनरक्षाका लागि ढाल बनेर उभिएको बताएका छन्।
बुधबार संसदमा सम्बोधन गर्दै उनले राज्य यतिबेला कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको बताएका हुन्।
‘राज्यले केही गरेन, राज्य कहाँ छ भनेर भनेको सुन्दछु। राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइदिदीबहिनीहरूको छहारी बन्न रातदिन खटिएको छ,’ लामिछानेले भने, ‘राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलहरूमात्रै होइन, विपद्ले टुटाएको नगारिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ।’
यस्तै उनले स्रोतसाधन र प्रविधि सीमित भए पनि हामीसँग भएका सीप, कौशलको उच्चतम् प्रयोग भएको बताए।
लामिछानेले राज्य भविष्यमा यस्तो नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्वतयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको पनि बताए ।
































