२४ भदौ, काठमाडौं । रसुवा भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ३६७ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लाबाट हालसम्म एक हजार ३६७ जनाको शव फेला परेको छ ।
प्राधिकरणकाअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् ।
चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी (पश्चिम)मा २२२, नवलपरासी (पूर्व)मा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन् ।
काठमाडौंमा उपचारका क्रममा रहेका दुईजनाको पनि मृत्यु भएको छ ।
हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।
सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुईवटा फोटो र नाता प्रमाणित कागजातसहित डीएनएको नमुना दिन सकिने व्यवस्था गरिएको छ ।
बाढी तथा विपद्का कारण पाँच हजार १३२ जना अझै बेपत्ता छन् । रसुवाबाट मात्रै दुई हजार ८६० जना सम्पर्कविहीन छन् ।
त्यसमध्ये रसुवा जिल्लाका एक हजार ३९३, अन्य जिल्लाका एक हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी छन् ।
नुवाकोटबाट एक हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
त्यसमध्ये नुवाकोटका ६५१ र रसुवाबाहेक अन्य जिल्लाका एक हजार १३६ जना छन् । ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
सनाखत भएका शवको संख्या सम्पर्क विहीनको संख्याबाट घटाइएको प्राधिकरणले जनाएको छ ।
































