काठमाडौं । महिलाहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कागेश्वरी मनोहरा नगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्ध “स्क्रिनिङदेखि उपचारसम्म” अभियान सञ्चालन गरेको छ।
कागेश्वरी मनोहरा नगर अस्पतालमा उपप्रमुखसँग प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत नगरपालिकाका ९ वटै वडाका आमा तथा दिदीबहिनीहरूलाई लक्षित गरी यो अभियान चलाइएको हो।
अभियानमा हालसम्म २ हजार ५ सय ९० जना महिलाको HPV DNA Test गरिएकोमा २६१ जनाको रिपोर्ट Positive आएको छ। HPV Positive देखिएका सम्पूर्ण सेवाग्राहीलाई सोही अस्पतालमा थर्मो कोगुलेसन प्रविधिमार्फत वरिष्ठ Oncologist डा. तारा महर्जन र उनको टिमबाट आवश्यक उपचार तथा परामर्श प्रदान गरिँदै आएको छ।
अस्पतालका अनुसार पाठेघरको मुखको क्यान्सर दोस्रो तथा तेस्रो चरणमा देखिएका बिरामीहरूलाई थप जाँच तथा विशेष उपचारका लागि आवश्यकतानुसार अन्यत्र रेफर गरिएको छ। उपचार तथा Follow-up लाई निरन्तरता दिइएको छ।
नगर अस्पतालले यो अभियान केवल रोग पहिचान गर्ने कार्यक्रम मात्र नभई “रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नुअघि नै स्क्रिनिङमार्फत जोखिम पहिचान गरी रोकथाम, निदान र उपचारसम्म पुर्याउने” उत्कृष्ट कार्य भएको जनाएको छ।
यस अभियानमा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मीहरूप्रति अस्पतालले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने दोस्रो ठुलो क्यान्सर हो। समयमै स्क्रिनिङ गर्दा यो पूर्ण रूपमा रोकथाम र उपचार गर्न सकिन्छ।


































