२२ भदौ, काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन्।
आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज सोमबार बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खस्दा खोलाले बगाएको हो।
दुर्घटनापछि सोही ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका(६ नाल्बोका १४ वर्षीय समीर नाल्बोले इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे मौखिक जानकारी गराएका थिए।
ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा भेटिएको छ भने ठेगाना तत्काल नखुलेका ट्याक्टर चालक समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिए।
बेपत्ताको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादव सहितको टोली परिचालन गरिएको छ।
ट्याक्टर अरुण भेनियर कम्पनीको रहेको र कम्पनीका सञ्चालक प्रकाश नाल्बोसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय दोभानबाट करिब ८०० मिटर उत्तरतर्फ पर्दछ ।































