२० भदौ, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
मानव बेच बिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्कका रूपमा रहेको बताउँदै यो सङ्गठित अपराधका रूपमा विश्वभर फैलिरहेकाले यसलाई रोक्न सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने उल्लेख गरे ।
‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ आज दिवस मनाइँदैछ ।
प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताए ।
उनले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत तथा संस्थागत सुधार गर्दै आएको जानकारी दिए ।
यसका लागि तीनै तहको सरकार र सम्बन्धित सबै सरोकार भएका निकायको समन्वय तथा सहकार्यमा विभिन्न पहल भइरहेको उनको भनाइ छ ।
ीबहmष् कगलचष्कभ दबलप
प्रधानमन्त्री शाहका अनुसार मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ लाई ‘पालेर्मो प्रोटोकल’अनुकूल हुने गरी संशोधन गर्ने विधेयक संसदमा दर्ता गरिएको छ । यसबाट मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको अन्तर्राष्ट्रियस्तरमा मानव अधिकार संरक्षणका लागि राज्यहरूबीच सहयोग र समन्वय बढाउन सहज हुने अपेक्षा गरिएको छ ।
विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई सङ्घीय संरचनाअनुरूप बनाउने क्रममा मानव बेचबिखनविरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री शाहले जानकारी दिए ।
उनले मानव बेचबिखन विरुद्धको अभियानमा सङ्घीय सरकारका अतिरिक्त प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकार भएका निकायको सहकार्य अपरिहार्य रहेको बताए ।
“हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ”, प्रधानमन्त्री शाहले सन्देशमा उल्लेख गरेका छन् ।
उनले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नेपाल सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै सरकारको प्रतिबद्धतामा साथ, सहयोग र ऐक्यबद्धताका लागि आग्रह गरे ।































