Skip

Hamro Sanchar

विपत्तिमा कागेश्वरी मनोहरा : एम्बुलेन्स, शववाहनदेखि ७५ लाख सहयोगसम्म

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १९ गते


Advertisement

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कागेश्वरी मनोहरा नगरपालिकाले उद्धार तथा मानवीय सेवाका लागि एम्बुलेन्स र शववाहन तत्कालै प्रभावित क्षेत्रमा पठाएको छ।

नगरप्रमुख उपेन्द्र कार्कीको निर्देशनमा नगरपालिकासँग रहेका एक एम्बुलेन्स र एक शववाहन संकटग्रस्त क्षेत्रमा पठाइएको हो। बाढीको सूचना प्राप्त हुनासाथ प्रभावित तथा घाइते नागरिकको उद्धार र उपचारका लागि एम्बुलेन्स तथा बाढीमा ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन र स्थानान्तरणका लागि शववाहन परिचालन गरिएको नगरपालिकाले जनाएको छ।

विपद्को समयमा मानवीय सेवामा सक्रिय हुनुपर्ने उद्देश्यले नगरपालिकाले आफ्ना साधन तथा जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरेको हो। दुवै सवारीसाधनले संकटग्रस्त क्षेत्रमा पुगेर निरन्तर सेवा प्रदान गरेका छन्।

यससँगै नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ७५ लाख ५५ हजार ५७५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बाढीपीडितका लागि जुटाइएको उक्त रकममा जनप्रतिनिधिदेखि नगरपालिका तथा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीसम्मको योगदान समेटिएको छ। नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूले एक महिनाको सेवासुविधा तथा अन्य जनप्रतिनिधिले सात दिनबराबरको सेवासुविधा सहयोग गर्ने निर्णय भएको नगरप्रमुख कार्कीले जानकारी दिनुभयो।

त्यसैगरी नगर अस्पतालसहित नगरपालिकाअन्तर्गत कार्यरत स्थायी, अस्थायी तथा करार कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको २ देखि ७ दिनसम्मको पारिश्रमिक समेत सहयोगमा समावेश गरिएको छ।

भोटेकोशी विपत्तिको दसौं दिन बितिसकेको छ। अझै पनि खोजी र उद्धारको काम सकिएको छैन। मृतकहरुको शवको पहिचानको काम जारी छ । बाढीपछि जारी खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १,२९० जनाको शव फेला परेको छ। विपद्मा परी हालसम्म ४,७९८ जना बेपत्ता रहेका छन्। सुरक्षाकर्मीको सक्रियतामा हालसम्म ८,१२७ जनाको सफल उद्धार गरिएको छ।


प्रतिकृया दिनुहोस्