२१ साउन, काठमाडौं । अबदेखि प्रतिनिधिसभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्।
सभामुख डोलप्रसाद अर्याल (डिपी)ले संसदको गरिमा र मर्यादा कायम राख्ने उद्देश्यले यस्तो निर्देशन दिएका हुन्।
आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले संसद बैठकमा कालो चस्मा लगाउने विषयमा पटक–पटक प्रश्न उठेकाले अबदेखि यस्तो अभ्यास अन्त्य गर्नुपर्ने बताएका थिए। उनले प्रमुख सचेतक र सचेतकहरूलाई आफ्ना दलका सांसदहरूलाई यसबारे जानकारी गराउन पनि आग्रह गरेका छन्।
हाल प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल तथा केही सांसदहरू संसद बैठकमा कालो चस्मा लगाएर उपस्थित हुने गरेका छन्। त्यसैले यो निर्णय प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि समान रूपमा लागू हुने विषयमा बैठकमा चासो व्यक्त गरिएको थियो।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री र मन्त्रीहरू पनि कालो चस्मा लगाएर संसदमा आउने गरेकाले उनीहरूलाई पनि नियम पालना गराउन सभामुखले नै पहल गर्नुपर्ने धारणा राखिन्। उनले आफ्नो पार्टीका सांसदहरूलाई भने अबदेखि कालो चस्मा नलगाउन निर्देशन दिने बताइन्।
सभामुखले त्यसपछि सत्तारूढ दलका सचेतक प्रकाशचन्द्र परियारलाई सरकारको ध्यानाकर्षण गराउन आग्रह गरेका थिए। परियारले संसदलाई थप मर्यादित बनाउने सन्दर्भमा कालो चस्माको विषय उठाइएको र यो विषय सांसदहरूको आचरणसँग जोडिएको बताए।
नेकपा प्रमुख सचेतक युवराज दुलालका अनुसार सभामुखले संसदको गरिमा, मूल्यमान्यता र औपचारिक पोशाकमा विशेष ध्यान दिन आग्रह गरेका छन्। उनले कोट लगाउने, कालो चस्माको प्रयोग कम गर्ने तथा बैठकलाई मर्यादित बनाउने विषयमा जोड दिएको बताए।
यससँगै सभामुखले संसद बैठक चलिरहेका बेला सांसदहरू लामो समयसम्म लबीमा बसेर गफ गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाएका छन्। बैठक सञ्चालन भइरहेका बेला सांसदहरू बैठक कक्षमै उपस्थित हुनुपर्ने उनको भनाइ थियो।
प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुने व्यवस्था छ। पोशाक निर्धारण गर्दा औपचारिक, मर्यादित तथा नेपाली मौलिक संस्कृति, परम्परा र पहिचान झल्किने भेषभूषामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।































