Skip

Hamro Sanchar

बिदेश जादा ठगीनु भएको छ ? घरमै बसेर दिनु अनलाइन उजुरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ५ गते


५ साउन,काठमाडौँ । के तपाईं लाई बिदेश जादा मेनपावर वा दलालले ठगेका छन् ?

वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका श्रमिकहरूलाई सहज रूपमा न्याय दिलाउने उद्देश्यले सरकारले अनलाइनमार्फत उजुरी दिन सकिने प्रणालीको कार्यान्वयन ल्याएको छ।

अब पीडितहरूले ठगीसम्बन्धी उजुरीका लागि कागजात बोकेर वैदेशिक रोजगार विभाग धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलमार्फत अब घरमै बसी–बसी मोबाइल या कम्प्युटरबाट ठगीसम्बन्धी उजुरी दर्ता गर्न सकिनेछ।

यही साउन १ गतेदेखि पूर्ण रूपमा लागू भएको यस प्रणालीमार्फत उजुरी दर्ता गर्नुका साथै आफ्नो मुद्दाको कारबाही प्रक्रिया कहाँ पुग्यो भन्ने बारेको विस्तृत जानकारीसमेत अनलाइनबाटै थाहा पाउन सकिने व्यवस्था गरिएको छ।

पोर्टलको सेवाबारे जानकारी लिन गत साउन १ गते वैदेशिक रोजगार विभाग पुग्नुभएका श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउन र पीडितलाई यथाशीघ्र न्याय दिन डिजिटल प्रणाली अति आवश्यक रहेको बताए। उनले अब मुद्दा दर्ता गर्न काठमाडौँ धाइरहनु नपर्ने स्पष्ट पार्दै पीडितहरूलाई घरबाटै अनलाइन उजुरी गर्न आग्रह गरे।

पीडितले आफ्नो मोबाइल वा कम्प्युटरबाट उक्त पोर्टलमा गई आवश्यक प्रमाणहरू सङ्कलन गरेर अनलाइनमार्फत उजुरी पेस गर्नुपर्छ। अनलाइन उजुरी पेस हुनासाथ विभागको टोलीले अध्ययन गरी दर्ता प्रक्रिया अगाडि बढाउनेछ भने उजुरी दर्ता हुनेबित्तिकै सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज र इमेलमार्फत जानकारी जानुका साथै एक ‘ट्र्याकिङ कोड’ प्राप्त हुनेछ। सोही ‘ट्र्याकिङ कोड’ प्रयोग गरेर पीडितले जुनसुकै समयमा आफ्नो उजुरीको अवस्था र प्रगतिबारे घरमै बसी–बसी जानकारी लिन सक्नेछन्।

विभागका अनुसार नयाँ प्रणाली सुरु भएको चार दिनको अवधिमा १४ वटा उजुरी अनलाइनमार्फत दर्ता भइसकेका छन्। अधिकांश सेवाग्राहीलाई यस प्रणालीको बारेमा पूर्ण जानकारी नभएकोले अझै पनि कागजी फाइल बोकेर कार्यालय आउने गरेको पाइएको छ। विभागले कार्यालयमै आउने सेवाग्राहीहरूको समेत सोही स्थानबाट अनलाइन उजुरी दर्ता गराउँदै आएको छ।

यस नयाँ व्यवस्थाबाट वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका सेवाग्राहीहरूले काठमाडौँ आउने, होटलमा बस्ने र धाउने झन्झट तथा खर्चबाट मुक्ति पाउने अपेक्षा गरेका छन् ।


प्रतिकृया दिनुहोस्