
पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको संगमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ ।
दुई दिनदेखिको लगातारको वर्षाका कारण कालीगण्डकी नदी र सेती खोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो ।
शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमास्थल समेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिए । कालीगण्डकीको बहाव बढेपछि शालिग्राम शिला डुबानमा परेको उनले बताए ।
निरन्तर वर्षाका कारण कालीगण्डकी र सेति खोलामा पानीको सतह ह्वात्तै बढेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन् ।
नियमित पूजापाठका निम्ति आउने भक्तजन पनि शालिग्राम शिलाको दर्शन गर्नबाट वञ्चित भएका छन् ।
सेतीवेणीमा मिसिने सेती खोला र कालीगण्डकीको उच्च बहावका कारण शिला परिक्रमास्थल समेत पूर्ण रूपमा क्षतविक्षत बनेको स्थानीय तिलक पराजुलीले बताए । उनले शिला क्षेत्र डुबानमा परे पनि बस्तीमा तत्काल कुनै खतरा नरहेको जानकारी दिए ।
पवित्र शालिग्राम शिलासँगै उक्त क्षेत्रका सत्तललगायत सबै संरचना डुबानमा परेका छन् । शिलामा दर्शन गर्न जान रोक लगाइएको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सीमामा पर्ने सेतीवेणी बजार डुबानको जोखिममा पर्ने गरेको छ ।
कालीगण्डकी र सेती खोलाको बहाव बढेसँगै सेतीवेणी बजार डुबानमा पर्ने चिन्ताले पर्वततर्फको बजार क्षेत्र र स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फको बजार क्षेत्रका झन्डै २०० व्यापारी तथा सर्वसाधारण त्रसित बन्ने गरेका छन् ।






























