
२९ असार, काठमाडौं । जेनजी अगुवा माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।
आज काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको बेडबाट उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् ।
“म सबै सम्बन्धित अधिकारीहरू, संघीय संसद्का सबै माननीय सदस्यहरू, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकाररक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु,” अन्सारीले भनेका छन् ।
असार २७ गते अपराह्न ५ बजे तिर १०–१२ प्रहरीले लछारपछार गर्दै कुटपिट गरी आफूलाई गम्भीर घाइते बनाएको उनले जनाएका छन् । हाल त्रिवि शिक्षण अस्पतालमा आफ्नो उपचार भइरहेको उनले उल्लेख गरेका छन् ।
“मलाई अहिलेसम्म मेरो पक्राउको कारणबारेमा कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ । मेरो पक्राउको कानुनी हैसियतबारेमा पनि कुनै स्पष्टता छैन । के गृहमन्त्री वा प्रहरी प्रमुखज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानुनी कारबाहीहरू किन यति लक्षित तरिकाले मविरुद्ध गरियो ?” अन्सारीले प्रश्न गरेका छन् ।






























