Skip

Hamro Sanchar

कोशी अस्पतालको जग्गामा अनाधिकृत बनेका व्यावसायिक सटरमा चल्यो डोजर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २९ गते


२९ असार, इटहरी । वर्षौंदेखि व्यावसायिक प्रयोजनमा प्रयोग हुँदै आएको कोशी अस्पतालको बहुमूल्य जग्गा आजदेखि अस्पतालकै नियन्त्रणमा फर्किएको छ।

अस्पताल प्रशासनले अतिक्रमित क्षेत्रमा बनेका व्यावसायिक सटरहरू डोजर लगाएर हटाएसँगै सेवा विस्तारका लागि आवश्यक जग्गा उपयोग गर्ने बाटो खुलेको हो।

जिल्ला सुरक्षा समितिको समन्वयमा बिहानैदेखि विराटनगर–७ स्थित अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा डोजर परिचालन गरी नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएका संरचना हटाइएको हो।

सम्भावित अवरोध रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

अस्पतालका अनुसार ती संस्थाले अस्पतालको नाममा रहेको जग्गामा निर्माण गरेका सटर तेस्रो पक्षलाई भाडामा दिएर आम्दानी गर्दै आएका थिए। ती संरचना हटाइएपछि अस्पतालले आफ्नै गुरुयोजनाअनुसार नयाँ भवन निर्माण, सेवा विस्तार र पूर्वाधार विकास अघि बढाउने जनाएको छ।

मेडिकल सुपरिटेन्डेन्ट डा। चन्द्रभाल झाले अस्पतालको सम्पत्ति अस्पतालकै सेवामा प्रयोग गर्ने उद्देश्यले अतिक्रमण हटाइएको बताए।

उनका अनुसार ब्लड बैंक, क्षयरोग उपचार सेवा र धार्मिक तथा सामाजिक सेवासँग प्रत्यक्ष जोडिएका मुख्य संरचना भने तत्काल यथावत् राखिएको छ। हाल व्यावसायिक प्रयोजनमा प्रयोग भइरहेका सटर मात्रै हटाइएको हो।

गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताको स्थलगत निर्देशनपछि अस्पतालले सात दिनको समयसीमा दिएको थियो।

अवधि सकिएसँगै सोमबार बिहान डोजर परिचालन गरी अतिक्रमण हटाउने अभियान सुरु गरिएको हो ।


प्रतिकृया दिनुहोस्