
२८ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेबीच चार घण्टाभन्दा बढी समयसम्म भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शाह आज बिहान बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेका थिए । करिब सवा ११ बजे पुगेका शाह दिउँसो सवा ३ बजेपछि मात्रै बाहिरिएका थिए ।
लामो समय भएको छलफललाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । स्रोतका अनुसार भेटमा समसामयिक राजनीतिक अवस्था, सुकुमवासी समस्या समाधान तथा रास्वपाको संगठन विस्तारलगायत विषयमा छलफल भएको थियो ।
चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनपछि बाँकी रहेका पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि दुई नेताबीच कुराकानी भएको बताइएको छ ।
यसअघि नै प्रधानमन्त्री शाहलाई रास्वपाको वरिष्ठ नेता बनाउने सहमति भइसकेको छ । पछिल्लो भेटलाई आगामी राजनीतिक रणनीति र सहकार्यका दृष्टिले चासोका साथ हेरिएको छ ।






























