
२३ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये ७ जनालाई सफाइ दिएको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये ७ जनालाई सफाइ दिएको हो ।
अदालतले रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई सफाइ दिएको हो ।
सन्दीप पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् भने प्रतीक रामबहादुर थापा बादलका छोरा हुन् ।
यस्तै अदालतले पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणसहित १४ जनालाई दोषी ठहर गरेको छ ।
अदालतले आज उनीहरूविरुद्ध संगठित रूपमा ठगी गरी राज्यविरुद्धको अपराध गरेको ठहर गर्दै फैसला सुनाएको हो ।
दोषी ठहर हुनेहरूमा रायमाझी र खाँणसहित, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजीत राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा र टेकनारायण पाण्डे लगायत रहेका छन् ।






























