Skip

Hamro Sanchar

गृहमन्त्रीको चेतावनी : जनस्वास्थ्यमा खेलवाड गर्नेहरूसँग सम्झौता हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १६ गते


१६ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुले अस्वच्छ र गुणस्तरहीन खाद्य पदार्थ बिक्री वितरण गरी नागरिकको स्वास्थ्यमा खेलवाड गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएका छन्।

आज सामाजिक सञ्जालमार्फत मन्त्री गुरुले जनस्वास्थ्यका सवालमा कसैसँग कुनै सम्झौता नहुने बताएका हुन्।

नागरिकको स्वास्थ्य र जिउधनको सुरक्षा राज्यको पहिलो जिम्मेवारी रहेको मन्त्री गुरुको भनाइ छ।

दूषित वा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको देखिएमा तत्काल प्रमुख जिल्ला अधिकारीको कार्यालयमा जानकारी गराउन उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।

मन्त्री गुरुले जनस्वास्थ्यको सुरक्षासम्बन्धी आदेशलाई कडाइका साथ पालना गर्न सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत दिएका छन्। देशभर सञ्चालित होटल तथा रेस्टुरेन्टहरूको खानाको गुणस्तर र स्वच्छतामाथि प्रश्न उठेपछि गृह मन्त्रालयले सोमबार बजार अनुगमनमा कडाइ गर्न निर्देशन दिएको थियो।

साथै, गृहले आम नागरिकका गुनासा सहजै दर्ता गर्न जिल्ला प्रशासन कार्यालयहरूमा हटलाइन वा द्रुत सेवा डेस्क तुरुन्त स्थापना गर्नसमेत भनेको छ।

नागरिक स्तरबाट प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखेर समाधान गर्न गृहको निर्देशन छ। सानातिना विषयमा पनि गुनासोकर्ताहरू केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने स्थितिको पूर्ण रूपमा अन्त्य गर्न मन्त्रालयले सचेत गराएको छ।


प्रतिकृया दिनुहोस्