
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ ले विश्व वातावरण दिवसको अवसरमा शुक्रबार वडास्तरीय कविता वाचन प्रतियोगिता आयोजना गरेको छ।
प्रतियोगितामा कक्षा ५ देखि १० सम्म अध्ययनरत ८ जना विद्यार्थीहरूले “हाम्रो वातावरण, हाम्रो भविष्य” शीर्षकमा कविता वाचन गरेका थिए।
प्रतियोगितामा गीताञ्जली स्कुलका आयुष भट्टराई प्रथम, महाकवि देवकोटा विद्यालयकी सुस्मा भुजेल द्वितीय तथा गणेश हिमाल माध्यमिक विद्यालयकी जेनिशा कार्की तृतीय हुन सफल भए। विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगितामा पूर्व शिक्षक तथा प्राध्यापक श्रीराम सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा वडाअध्यक्ष प्रकाश फुयालले वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारी पनि भएको बताए। उनले वातावरणीय सचेतना अभिवृद्धि गर्न विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै यस्ता सिर्जनात्मक कार्यक्रमले बालबालिकामा वातावरणप्रति जिम्मेवार भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, वातावरण संरक्षणका अभियानमा समुदाय, विद्यालय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा वडाअध्यक्ष प्रकाश फुयाल, वडा सदस्यहरू कपिल खनाल, रूपमती भण्डारी, विकाश केसी लगायत कर्मचारी तथा विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो।



































