
२५ बैशाख, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको छ ।
आज सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए ।
जेठ ५ गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययन हुने उनको भनाइ छ ।
सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ ।
यसअघि बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।













