
२० बैशाख, काठमाडौं । आदर्शकुमार श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष पदबाट पदमुक्त भएका छन्।
सरकारले जारी गरेको अध्यादेशमार्फत उनलाई पदबाट हटाइएको हो।
श्रेष्ठलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्की ले प्रतिनिधिसभा निर्वाचनपछि कार्यकाल सकिने बेलामा आफ्नो प्रमुख स्वकीय सचिवलाई कोषको अध्यक्षमा मनोनयन गरेकी थिइन्। नियुक्त भएको करिब डेढ महिनामै उनी पदमुक्त भएका हुन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार अध्यक्षको पदावधि पाँच वर्ष रहने व्यवस्था भए पनि नयाँ अध्यादेशले उक्त व्यवस्था संशोधन गर्दै पदमुक्त गरेको हो। यस पदमा बस्ने अध्यक्षले मन्त्रीसरहको सुविधा पाउने व्यवस्था थियो।
श्रेष्ठमाथि दोहोरो सुविधा लिएको आरोप पनि लागेको थियो। उनले समाजकल्याण परिषद् मा कानूनी सल्लाहकारको रूपमा समेत नियुक्ति लिएर अतिरिक्त सुविधा लिइरहेका थिए। परिषद्बाट उनले सहायक निर्देशक सरहको तलब पाउँदै आएका थिए।
समाजकल्याण परिषद्का सदस्य सचिव सरोजकुमार शर्मा ले उनलाई कानूनी सल्लाहकारमा नियुक्त गरेका थिए। दुवै पदमा रहेर सुविधा लिएको विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो।













