
६ बैशाख, काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालबीच भएको भेटको एमालेसँग जोडिएकै व्यक्तबाट विरोध हुनु अचम्मको कुरा भएको बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत
बस्नेतले वामपन्थी र एमालेसँग जोडिएका व्यक्तिहरूले नै भेटबारे अनावश्यक हल्ला गरेको देख्दा अचम्म लागेको प्रतिक्रिया दिएका हुन् ।
‘बिरामी भएको बेला भएको सद्भावपूर्ण भेटलाई असंख्य अर्थ लगाएर कम्यिनिस्ट पार्टी एकता भयो भने त बर्बादै हुन्छ भन्ने शैलीमा समाजवाद र जनवाद मन नपराउने र मुलुकको समृद्धि, विकास र राष्ट्रिय हित नचाहने शक्तिहरूले विरोध गर्नु त स्वाभाविक हो’ उनले लेखेका छन्, ‘तर, आफूलाई वामपन्थी भन्न रुचाउने, अझ एमालेकै नामसँग जोडिएका कतिपय नेताहरूले समेत अनावश्यक हल्ला र टिकाटिप्पणी गरेको सुन्दा भने अचम्म लाग्छ ।’
ओली र प्रचण्डबीच केही दिनअगाडि काठमाडौंमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तापछि दुई पार्टीबीच एकता हुन सक्ने सम्भावनाबारे चर्चा समेत हुन थालेको छ ।















