Skip

Hamro Sanchar

अबदेखि विद्यालयमा पनि दुई दिन बिदा, वैशाख २१ देखि नियमित पठनपाठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २६ गते


काठमाडौँ । सरकारले आगामी शैक्षिक सत्र २०८३ को भर्ना अभियान र विद्यालय सञ्चालन सम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै नयाँ शैक्षिक सत्रको व्यवस्थापन र बिदा सम्बन्धी महत्वपूर्ण निर्णयहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

सूचनाअनुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ देखि सुरु हुनेछ ।

त्यसैगरी, नियमित पठनपाठन भने वैशाख २१ गतेदेखि सञ्चालन हुने गरी व्यवस्था मिलाउन सबै स्थानीय तह र विद्यालयलाई अनुरोध गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णय बमोजिम सरकारी कार्यालयका साथै सम्पूर्ण शैक्षिक संस्थामा पनि शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ ।

नयाँ बिदा प्रणालीअनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न केन्द्रले निर्देशन दिएको छ ।

केन्द्रले वैशाख २ गतेदेखि नै विद्यालयलाई विभिन्न प्रवद्र्धनात्मक र रचनात्मक क्रियाकलापहरू गर्न निर्देशन दिएको छ ।

जसमा शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण, वार्षिक कार्यतालिका र शैक्षणिक योजना तयार गर्ने, विद्यालय सुधार योजना निर्माण तथा अध्यावधिक गर्नुपर्ने छ ।

शिक्षकको पेसागत क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना बनाउनुपर्ने सूचनामा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्