
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ।
शुक्रबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो।
कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका कारण उपसभापति शर्माले बैठकको नेतृत्व गरेका छन्।
प्रतिनिधि सभामा कांग्रेसले पराजय भोगेका कारण नैतिक जिम्मेवारी लिँदै थापाले बुधबार राजीनामा दिएका थिए।
सभापति थापाको कुर्सी खाली राखिएको छ। उनी केन्द्रीय कार्यसमितिको बैठकमा पनि उपस्थित भएका छैनन्।
आजको बैठकमा थापाको राजीनामाका विषयमा छलफल हुने जनाइएको छ। यससँगै उनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस हुने भएको छ।
यससँगै आजको बैठकमा प्रतिनिधि सभा निर्वाचनको समीक्षा पनि गरिने भएको छ। गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ३८ सिट जितेको छ ।














