
काठमाडौं । आज र भोलि देशका विभिन्न ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत सार्वजनिक अपिल गर्दै सतर्कताका लागि अनुरोध गरेको छ ।
मौसमविद्हरूले लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरूमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हावाहुरीको चेतावनी दिएका छन् ।
आज दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई आसपासका जिल्ला साथै भोलि ९शनिबार० पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने अनुमान छ ।
प्रि मनसुनको अवधि पनि रहेकाले हुरीका कारण रुख ढल्ने, छाना उडाउने, विद्युत तथा सञ्चाल सेवा प्रभावित हुनेलगायतका जोखिम बढ्ने साथै मानिसको मृत्यु तथा घाइते पनि हुनसक्ने सूचनामा उल्लेख छ ।
सरकरी निकायद्वारा जारी सूचनामा तीव्र हुरीको चेतावनी दिइएका ती क्षेत्रमा बसोबास साथै यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउनुपर्ने, अतिआवश्यक काम नपरी यात्रामा ननिस्कन, हुरी चलेको बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोत बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्ति, भागदौड नगर्न सचेत गराइएको छ ।
त्यस्तै हावा चलेको बेला कमजोर संरचना, रुख, टेलिफोन वा बिजुलीको पोल साथै तारमुनि नबस्न, लत्रिएका तार नछुन र विद्युतीय उपकरण नचलाउन आग्रह गरिएको छ ।














