
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित १ सय १० सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ।
आज निर्वाचित आयोगमा आयोजित कार्यक्रममा समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरिएको हो। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन्।
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४-४ सिट जितेका थिए।
प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जना सांसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै सम्बन्धित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाणपत्र दिइएको थियो ।














