Skip

Hamro Sanchar

मोदी सहभागी हुने र्काक्रममा पूर्वमेयर रेनुले सम्बोधन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २८ गते


काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीकी नेता तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित एनएक्सटी समिट २०२६ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन्।

भारतीय राज्यसभा सदस्य कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै सम्मेलनमा सम्बोधनका लागि आग्रह गरेका हुन्।

आगामी मार्च १२ देखि १४ सम्म नयाँ दिल्लीस्थित भारत मण्डपमु मा आयोजना हुने उक्त सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथिका रूपमा सहभागी हुँदैछन्। यस्तै, अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनलाई सम्मानित अतिथिका रूपमा निम्त्याइएको छ।

एनएक्सटी समिट भारतले आफ्नो वार्षिक क्यालेन्डर इभेन्टका रूपमा विकास गर्न लागेको उच्चस्तरीय अन्तर्राष्ट्रिय मञ्च हो। विश्वभरका नीति निर्माता, शिक्षाविद्, व्यवसायी, राजनीतिज्ञ र विज्ञान–प्रविधि क्षेत्रका दिग्गज विचारकहरूलाई एउटै थलोमा ल्याएर भविष्यका चुनौती र सहकार्यबारे बहस गर्न भारतले समिटि आयोजना गर्छ। विशेषगरी युवा नेतृत्व, प्रविधि आधारित सुशासन र दिगो विकासका एजेन्डालाई यसले प्राथमिकतामा राखेको छ। आयोजकका अनुसार यस पटकको सम्मेलनमा ३० भन्दा बढी देशका सांसदहरू, अक्सफोर्ड, हार्वर्ड, एमआईटी र स्ट्यानफोर्डजस्ता विश्वका उत्कृष्ट २५ विश्वविद्यालयका प्राध्यापक तथा विशेषज्ञहरूको सहभागिता रहनेछ।

सम्मेलनमा भारतका रेल तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णव र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा। जितेन्द्र सिंहलगायतको उपस्थिति रहनेछ। विज्ञान विधाका लागि प्रसिद्ध भौतिकशास्त्री डा। ब्रायन ग्रीनसँगको सहकार्यमा एनएक्सटी इन साइन्स कार्यक्रमसमेत सञ्चालन हुनेछ।

नेपालबाट पूर्वमेयर दाहाललाई वक्ताका रूपमा छनोट गरिनुलाई उनको महानगर प्रमुखका रूपमा कार्यकालमा भएका विकासका प्रयासहरूको अन्तर्राष्ट्रिय पहिचानका रूपमा हेरिएको छ। दाहाल हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भएकी थिइन्।


प्रतिकृया दिनुहोस्