Skip

Hamro Sanchar

अब एमाले हिजोजस्तो रहँदैन, नेतृत्व पुनर्गठन गर्छौं : योगेश भट्टराई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २८ गते


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठन अहिलेको आवश्यकता भएको बताएका छन् ।

आज भिडियो सन्देशमार्फत उनले पार्टीको नेतृत्व र कार्यशैली फेर्ने प्रतिबद्धता जनाएका छन् ।

“पार्टी पुनर्गठन अहिलेको आवश्यकता हो । नेतृत्व, संगठन, कार्यशैली सबै कुरामा पुनर्गठन गर्नुपर्नेछ । त्यो पुनर्गठन गर्छौं,” उनी भन्छन्, “अब एमाले हिजोजस्तो रहँदैन, नयाँ हुन्छ । जनमुखी, युवामैत्री हुन्छ ।”

विगतका कमजोरीको आत्मालोचना गर्दै जनताका अघि माफी माग्ने उनको भनाइ छ । उनले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

भट्टराईले संसद् विघटन संक्रमण अन्त्यको सही बाटो नभएको बताएका छन् । “जेनजीहरूका मागलाई संवैधानिक प्रक्रियाबाटै संसद्बाटै पूरा गर्न सकिन्थ्यो । राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ, उहाँलाई संसद्बाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो,” भट्टराईले भनेका छन्, “तर, त्यता जान खोजिएन । संसद्लाई विघटन गरिएको छ । यो सही निकास होइन ।”

सुशासनका लागि एमाले र यसका नेताहरूसहित सबैको छानबिन गर्न पनि उनले माग गरेका छन् । पुनर्निर्माण अहिलेको आवश्यकता भएको उनले बताएका छन् ।


प्रतिकृया दिनुहोस्