Skip

Hamro Sanchar

प्रधानमन्त्री चीनबाट फर्किएपछि सरकारले भन्यो : भारतमा पनि चीनमा जस्तैगरी आफ्ना अडान राख्छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १९ गते


काठमाडौं । पाँच दिने चीन भ्रमण सकेर बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक लगायतका सरकारी अधिकारीहरूले स्वागत गरे ।

भ्रमणबारे परराष्ट्र सचिव अमृतबहादुर राईले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

राईले प्रधानमन्त्री ओलीको यो भ्रमणका क्रममा भएका विभिन्न भेटघाट, छलफलबारे जानकारी गराए ।उनले अब भारत भ्रमणको तयारीमा सरकार लाग्ने पनि बताए ।

‘अब भारतको तयारीमा लाग्छौं ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै राईले भने, ‘निश्चितै रुपमा ।’

परराष्ट्र सचिव राईका अनुसार, नेपालले सधैँ आफ्ना प्राथमिकता र अडानहरूको तयारी गरिरहने छ ।

‘चीनमा जसरी आफ्ना कुराहरू प्रधानमन्त्री ओलीले राख्नुभयो, भारतमा पनि त्यसरी नै आफ्ना कुरा राख्नुहुन्छ ? भनेर सञ्चारकर्मीले प्रतिप्रश्न गरे ।

जवाफमा परराष्ट्र सचिव राईले भने, ‘नेपालले जहिल्यै पनि प्राथमिकताहरू, अडानहरू सधैं तयारीमा रहन्छ । परराष्ट्र मन्त्रालय जहिल्यै पनि तयारीमा रहन्छ ।’

नेपाल सधैँ आफ्नो परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमा आफ्नो नीति अनुसार अघि बढ्ने उनले बताए ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘एक चीन सिद्धान्त’ अवलम्बन गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको पनि उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्