
काठमाडौं । दुग्ध उत्पादक किसानको आन्दोलन तत्कालका लागि स्थगित भएको छ।
दुग्ध उत्पादक किसानहरूले उठाउँदै आएको बक्यौता रकम भुक्तानीको विषयमा सरकार र आन्दोलनरत दुग्ध संघसंस्थाहरूबीचको वार्तामा सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।
डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसनलगायत संस्थाहरूले केही दिनदेखि आन्दोन गरिरहेका थिए। उनीहरूले किसानको अर्बौं बक्यौता रकम तत्काल भुक्तानी गर्न भनेका थिए।
सहमतिअनुसार गत असारसम्मको बक्यौता रकम आगामी असोज ५ गतेभित्र, साउन महिनासम्मको बक्यौता रकम असोज ३० गतेभित्र र भदौ महिनासम्मको बक्यौता रकम आगामी कात्तिक मसान्तभित्र भुक्तानी गर्ने भनिएको छ।
त्यस्तै दुग्ध उत्पादक सहकारी संस्थाहरूबाट लिइरहेको दूधको परिमाणमा कटौती नगर्ने पनि सहमति भएको छ ।














