Skip

Hamro Sanchar

मानव बेचबिखनका आरोपहरू राजनीतिक षड्यन्त्र हुन्, खारेज गर्छु : उपसभामुख

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १७ गते


काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै त्यसलाई पूर्णरूपमा खारेज गर्ने बताएकी छन् ।

पत्रकारसँगको कुराकानीमा उनले संवैधानिक परिषद्‍मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भूमिकाका कारण यी आरोपहरू लगाइएको उनले जिकिर गरिन् ।

रानाले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि बढिरहने बताइन् । ‘संवैधानिक परिषद्‍मा कांग्रेसको कुनै प्रतिनिधि नहुनु र म विपक्षी सदस्य भएकाले ठूला दलहरूले बहुमत सिद्ध गर्न मलाई हटाउन खोजेका हुन्,’ उनले भनिन् ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले लगाएको ‘मानव बेचबिखन’को आरोपलाई पनि उपसभामुख रानाले आधारहीन बताइन् ।

‘बेचिएका भनिएका बच्चाहरूले एक वर्षअगाडि नै मिडियामा आएर स्पष्ट पारिसकेका छन् । यो आरोप भट्टराईले बिना अध्ययन लगाउनुभएको हो,’ उनले भनिन् ।

रानाले आफ्नो संस्था पीए नेपालले जेलमा परेका अभिभावकका बच्चाहरूलाई ट्रान्जिट संरक्षण र हेरचाह मात्र प्रदान गरेको जिकिर गरिन् । ‘हामी गरीब परिवारका बच्चाहरूलाई हेरचाह गर्छौं, शिक्षा दिन्छौं तर बेचबिखन होइन,’ उनले भनिन् ।

आरोपहरूको खण्डनका लागि बच्चाहरू र अभिभावकहरू नै मुख्य प्रमाण भएको उनले बताइन् ।

‘बच्चाहरू नै मिडियामा बोलेर स्पष्ट पारिसकेका छन् । नेताहरूले बच्चा वा अभिभावकसँग सोध्नुपर्छ, तर बच्चाहरूको गोपनीयतामाथि राजनीति गर्नु संगीन अपराध हो’ उनले थपिन्, ‘यो राजनीति नै हो, नत्र यो विषय पहिल्यै सुल्झिसक्थ्यो।’

रानाले भनिन्, ‘अभिभावकका ठेगाना हामीसँग छन्, सोध्न सकिन्छ । मैले संस्था छोडिसकेँ, तर बच्चाहरूले ‘आमा’ भन्दा भेट्न जान्छु । म सञ्चालक मात्र होइन, आमा बनेर हुर्काएकी हुँ ।’

उपसभामुख रानाले सरकारका गठबन्धन दलहरू काँग्रेस र एमालेले संवैधानिक परिषद्को नियुक्तिमा अप्ठ्यारो भएकाले आफूलाई हटाउन खोजेको दाबी गरिन् । ‘मेरो राजीनामा माग्ने कुनै आधार छैन । मैले बालबेचबिखन रोक्न नै काम गरेकी हुँ,’ उनले भनिन् ।

अमेरिकी दूतावासलाई लेखिएको पत्रबारे उनले भनिन्, ‘एम्बेसीबाट रिकमेन्ड मागिएको थियो तर मैले पत्र तयार गरे पनि फरवार्ड गरिनँ । यो रजिस्टर भएको छैन, अमेरिका पुगेको छैन ।’

उनले तत्कालीन पार्टी महामन्त्री मुकुल ढकाललाई जानकारी दिएको र तत्कालीन गृहमन्त्री रवि लामिछाने हुँदा गरिएको छानबिनमा केही नभेटिएको जिकिर गरिन् ।


प्रतिकृया दिनुहोस्