Skip

Hamro Sanchar

‘कागे अष्टमी’मा कागेश्वरी धाममा भब्य मेला लाग्ने, नगरपालिकाले दियो सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १२ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले भदौ १५ गते अर्थात् ‘कागे अष्टमी’मा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले भाद्र शुक्ल अष्टमीका दिन मनाइने ‘कागे अष्टमी’ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाकाले एक सूचना जारी गर्दै ‘कागे अष्टमी’ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

नगरपालिकाको वडा नम्बर-१ मा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले विशेष महत्व बोकेको कागेश्वरी धाममा भाद्र शुक्ल अष्टमीका दिन प्रत्येक बर्ष भब्य मेला लाग्ने गर्दछ । सो पर्वकाअवसरमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, नगर अस्पताल, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक बिदा दिएको हो । साथै उक्त मेलामा सहभागी भै भब्य रुपमा सफल पार्न सहयोग गर्न नगरबासीहरुमा नगरपालिकाले अनुरोध गरेको छ ।

मेलाका अवसरमा नेवार र तामाङ समुदायका सांस्कृतिक झाँकी, स्थानीय उत्पादनको प्रदर्शनी, धार्मिक अनुष्ठान, पूजा–आराधना, र भजन–कीर्तनका कार्यक्रमहरू हुने आयोजना हुने बताइएको छ ।

यस्तो छ धार्मिक विश्वास

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइन्छ । ‘स्वस्थानी व्रतकथा’मा उल्लेख भएअनुसार, सत्ययुगमा सतीदेवीको अङ्ग पतन भई उत्पन्न भएको शिवलिङ्ग श्रृद्धालुको आकर्षणको केन्द्र रहेको छ ।

यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् ।

यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ । श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो ।

कसरी पुग्न सकिन्छ ?

कागेश्वरी धाम पुग्न काठमाडौंबाट जोरपाटी–थली–डाँछी–ब्रह्मखेल–कागेश्वरी १ वडा कार्यालय गागल हुँदै पुग्न सकिन्छ । त्यस्तै, थली, भद्रवास, आलापोट हुँदै साविक गागलफेदी–कृष्णमन्दिर–अढुवाटी मार्ग तथा सुन्दरीजल–महाँकाल हुँदै सिंढी बाटो प्रयोग गरेर पनि कागेश्वरी पुग्न सकिन्छ ।

मन्दिर व्यवस्थापन समितिले सबै भक्तजनलाई आफ्नो सुविधाअनुसारको बाटो प्रयोग गरी मेलामा सहभागिताको अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस्