Skip

Hamro Sanchar

गौर प्रकरणबारे उपेन्द्रलाई देव गुरुङको जवाफ : ‘राजनीतिक घटना भन्दैमा सामूहिक हत्या गर्न पाइँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ७ गते


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले २०६३ सालमा भएको गौर हत्याकाण्ड प्रकरण राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि घेराबन्दी गरेर कसैको पनि सामूहिक हत्या गर्न नपाइने बताएको छ ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले गौर हत्याकाण्डबारे निष्पक्ष, स्वतन्त्र ढङ्गले न्यायिक छानबिन हुनुपर्ने बताए । उनले केही दिनअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डलाई राजनीतिक घटना भनेकोप्रति लक्षित गर्दै राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि घेराबन्दी गरेर सामूहिक हत्या गर्न नपाइने स्पष्ट पारे ।

उनले तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्व उपेन्द्र यादवले गरेको र मानव अधिकार आयोगले पनि अध्यक्ष यादवप्रति लक्षित गर्दै प्रतिवेदन बुझाएको बताए । सर्वोच्च अदालतले अहिले छानबिनका लागि दिएको परमादेशप्रति भने समय सन्दर्भका हिसाबले आशङ्का गर्नसक्ने ठाउँहरू प्रशस्त रहेको बताए ।

जसपा नेपाल भूमि विधेयकप्रति असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिनुले पनि यसमा आशङ्का गर्नसक्ने ठाउँहरू रहेको बताए । सरकार छोडेको र भूमि विधेयकको विरोध गरेकै कारणबाट पनि अदालतको फैसला सरकारको राजनीतिक प्रतिशोध लिने भावना जोडिएको हो की भन्ने आशङ्का उठेको उनको भनाइ छ । माओवादीले अदालतले गरेका फैसला जस्तो भएपनि स्वीकार गर्ने गुरु«ले बताए ।

महासचिव गुरुङले अदालतले गर्नुपर्ने कतिपय निर्णयहरूका सन्दर्भमा नीतिगत रूपमा हेर्दा अदालतले ध्यान पुर्‍याउन नसकेको बताए । न्यायिक निकायले निष्पक्ष र स्वतन्त्र ढङ्गले काम गर्नुपर्ने उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्