Skip

Hamro Sanchar

भारत र चीनले गरेको व्यवहारप्रति कांग्रेसको गम्भीर असहमति छ : गगन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ५ गते


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारत र चीनले नेपालाई बेवास्ता गर्दै लिपुलेक पास भएर व्यापार सञ्चालन गर्नेगरि गरेको सहमतिप्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका छन्।

बिहीबार प्रतिधिसभा बैठकमा बोल्दै उनले यो आपत्तिजनक र अस्वीकार्य रहेको समेत उल्लेख गरे। ‘हाम्रा दुई छिमेकी भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीहरुले पढ्यौँ, सुन्यौँ, जान्यौँ,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टी हाम्रा यी दुई छिमेकीले गरेको व्यहारप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक छ। अस्वीकार्य छ।’

नेपालको सहमतिबिना भदौ ३ गते भारत र चीनले लिपुलेक नाकालाई दुई देशको आपसी व्यापारिक प्रयोजनको लागि सञ्चालन गर्ने निर्णय गरेका थिए।

 

उनले नेपाली भूमि लिपुलेकबारे भारत र चीनले गरेको सम्झौतामा सरकारले अढि बढाएको पहलकदमीमा सबैलाई समेटेर अघि बढ्न पनि आग्रह गरे। ‘नेपाल सरकारले यसका बारेमा जुन पहलकदमी अगाडि बढाएको छ, सबैलाई समेटेर अगाडि बढाओस् ’ थापाले भने।

उनले सबैलाई समेटेर पहल अगाडि बढाउन पनि सरकारलाई आग्रह गरे। ‘नेपाल सरकारले यसका सन्दर्भमा जुन पहलकदमी अगाडि बढाएको छ, सबैलाई समेटेर अगाडि बढाओस्,’ थापाले भने।

यो विषयमा पहिले पनि सबै राजनीतिक दल एक ठाउँमा उभिएको र अहिले पनि उभिनुपर्ने भन्दै उनले यसलाई कसैले पनि घरेलु राजनीतिको विषय बनाउन नहुनेमा जोड दिए।

‘यो विषयमा नेपालका सबै राजनीतिक दलहरू एक ठाउँमा आएर उभिनुपर्छ, हिजो पनि उभियौँ, आज पनि हामी उभिनुपर्ने छ,’ थापाले भने, ‘हाम्रा मतमतान्तर आफ्ना ठाउँमा छन्। हाम्रा प्रतिष्पर्धा आफ्ना ठाउँमा छन्। हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऊँ।’

सबै राजनीतिक दल एकै ठाउँमा उभिएर दुवै देशलाई आफ्नो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य नहुने सन्देश दिनुपर्ने समेत उनको मत छ।

‘यो विषयमा भारत र चीन दुइवटैलाई नेपालका राजनीतिक दलहरुले एक ठाउँमा उभिएर एक ढिक्का भएर एउटै सन्देश दिनुपर्ने छ(हाम्रो भूमिमाथि आँखा लगाउने कुरा हामी कसैलाई पनि स्वीकार्य छैन। नेपालले यसको प्रतिवाद गर्छ,’ थापाले भने।


प्रतिकृया दिनुहोस्