
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-९ स्थित प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित प्रहरी ब्यारेक भवनको उद्घाटन गरिएको छ ।
भवनको बुधबार आयोजित एक कार्यक्रमकाबीच नगरप्रमुख उपेन्द्र कार्की र काठमाडौं जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ विश्व अधिकारीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । तेश्रो तल्लामा निर्मित प्रहरी ब्यारेकमा कार्यालय प्रमुखको कार्यकक्षसहित ५ कोठा र २ वटा सभाहल, ट्वाइलेट, बाथरुम रहेका छन् ।
उक्त तेश्रो तल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ को आर्थिक बर्ष २०८१/८२ को विनियोजित बजेटको १५ लाखमा निर्माण सम्पन्न भएको हो । उक्त भवन घुन्सा कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. डेड महिनामा सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका कार्कीले निर्माण कार्यमा सहयोग गर्ने भवन निर्माण गर्ने कम्पनी र समितिको प्रशंसा गरे । प्रमुख कार्कीले प्रहरी र नगरबासीहरुको सम्बन्ध सुमधुर बन्दै गएको भन्दै यहाँ खटिएका प्रहरीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । प्रहरीलाई नगरपालिकाले सवारीसाधन मर्मत र तेल खर्च प्रदान गर्दै आइरहेको जानकारी दिँदै आवश्यक पर्ने भौतिक पूर्वाधारहरुको छलफल गरेर परिपूर्ति गर्ने बताए ।
नगरपालिकाले उज्यालो ‘शहर, सुरक्षित शहर’को नीति लिएको जानकारी दिँदै प्रमुख कार्कीले नगरका मुख्य सडक, भित्री बाटो र चोकमा प्रबिधियुक्त, गुणस्तरीय बत्ति र सिसिटिभी जडान गर्ने बताए । यसको लागि करिब १८ करोड खर्च हुने अनुमान गरिएको पनि उनको भनाइ थियो । डीपीआर तयार भएको र यसै बर्षदेखि बहुबर्षिय ठेक्का प्रणालीमा लगेर सुरुवात गरिने उनले जानकारी दिए । जसले गर्दा अपाराधिक घटना कमी हुने र प्रहरी प्रशासनलाई पनि सहयोग पुग्ने प्रमुख कार्कीको भनाई थियो ।
यस्तै कार्यक्रम एसएसपी अधिकारीले प्रहरी र जनताको सम्बन्ध नङ्ग र मासुको जस्तै हुनुपर्ने बताए । उनले नगरपालिका र जनप्रतिनिधिको साथ र सहयोग रहेकोले आगामी दिनमा सुरक्षा र जनचासोका बिषयमा थप जिम्मेवार भएर लागि पर्ने बताए । “प्रहरी मेरो साथी” अभियानका प्रतिपादक समेत रहेका एसएसपी अधिकारीले प्रहरी र नागरिकबीच सहयात्रीको रूपमा सम्बन्ध स्थापित गर्दै यस क्षेत्रको प्रहरी सेवालाई चुस्त तथा प्रभावकारी बनाउने तर्फ प्रहरी प्रभाग काँडाघारी लाग्नुपर्ने बताए ।
आफुले कार्यभार सम्हालेपछि पहिलो पटक यस्तो जनप्रिय जनप्रतिनिधि भेटेको भन्दै एसएसपी अधिकारीले नगरप्रमुख कार्कीको प्रशंसा गरे ।
कार्यक्रममा एसएसपी अधिकारीले आर्थिक वर्ष २०८१–०८२ मा काठमाडौँ जिल्लाभरमा १२ हजार ९१५ मुद्दा दर्ता भएको जानकारी दिए । उनकाअनुसार अपराधमा संलग्न ८ हजार ५२० जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ ।
काठमाडौँमा एक वर्षको अवधिमा सबैभन्दा धेरै बैंकिङ कसुरको मुद्दा दर्ता भएको छ । गत आर्थिक वर्षमा ६ हजार ५५३ बैंकिङ कसुर र गत वर्ष अभद्र व्यवहार सम्बन्धी १ हजार ९५३ मुद्दा दर्ता भएको एसएसपी अधिकारीले जानकारी दिए ।
प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर प्रवक्ता एवं वडा नम्बर-८ का अध्यक्ष हरिभक्त पुडासैनी, ९ का अध्यक्ष अनिल थापाले शुभकामना मन्तब्य दिएका थिए ।
प्रहरी प्रभाग काँडाघारीका प्रमुख प्रहरी निरीक्षक राजन थापाले संचालन गरेको कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष भीमसेन थापाले स्वागत मन्तब्य दिँदै प्रहरी कार्यालय स्थापनादेखि भएका जटिलता, बाधा व्यवधान र हालसम्म भएका प्रगतिका बारेमा बोलेका थिए ।























